दशैँको मुखमा दुध किसानले पाएनन भुक्तानी, राजधानीकेन्द्रित आन्दोलन गर्ने !

काठमाडौं: चाडपर्वको मुखमा दुध किसान मारमा परेका छन। दुग्ध विकास संस्थान (डीडीसी) सहित निजी क्षेत्रका डेरी उद्योगले पछिल्लो ४ महिनादेखि दुध खरिद गरेवापत किसानलाई रकम भुक्तानी नगरेका कारण चाडपर्व नजिकिदै गर्दा उनीहरु मारमा परेका हुन् ।

डीडीसी र निजी डेरी उद्योगले पछिल्लो जेठदेखि किसानसँग उधारोमा दुध खरिद गर्दै आएका छन् । एकातिर किसानबाट खरिद गरेको दुधको भुक्तानी उपलब्ध गराएका छैनन् भने अर्कोतिर अघोषित मिल्क होलिडे लागू गरेर किसानलाई चाडपर्वको मुखमा सडकमा आउन बाध्य बनाएका छन् ।

दुध बिक्री गरेको रकम भुक्तानी नहुँदा किसानको घर व्यवहार बिग्रनुका साथै बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । गाईभैंसीका लागि दाना, चोकर, पीना, औषधी खरिद गर्न र बैंकबाट लिइएको ऋणको व्याजसमेत तिर्न उनीहरुले पाएका छैनन्।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका महासचिव राम आचार्यकाअनुसार भुक्तानी उपलब्ध गराइदिनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, दुग्ध विकास संस्थान (डीडीसी), राष्ट्रिय दुग्ध विकास बोर्ड र निजी डेरीमा दर्जनौं पटक धाए पनि किसानको समस्या समाधान गर्न कसैले चासो दिएका छैनन् ।

अबको एक साताभित्र भुक्तानी भएन भने चाडपर्वको मुखमा हामी पीडित किसानसहित राजधानी केन्द्रित आन्दोलन गर्नुको विकल्प नभएको आचार्य बताउछन।

सरकारी स्वामित्वको डीडीसीसमेतले किसानलाई ठगेर अहिलेसम्म उधारोमा दुध खरिद गर्दैआएको संघले जनाएको छ । आचार्यका अनुसार सरकारी स्वामित्वको डीडीसी र निजी डेरीले असोज १५ गतेसम्ममा करिब ६ अर्बको हाराहारीमा दुध खरिद गरेवापत किसानलाई भुक्तानी गर्न बाँकी छ ।

यसमध्ये डीडीसीले मात्रै गत जेठदेखि असोज १५ गतेसम्मको अवधीमा खरिद गरेको दुध वापतको ६२ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको आचार्यले जानकारी दिए । करिब ५ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ साना ठूला डेरी उद्योगले भुक्तानी गर्न बाँकी छ, उनले भने ।

स्रोतका अनुसार डीडीसीले सहकारीमार्फत दैनिक १ लाख लिटर दुध खरिद गर्र्दै आएको छ । यो वापत किसानलाई दुधको मात्रै दैनिक ७२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्छ ।

नियमअनुसार १ गतेदेखि १५ गतेसम्मको भुक्तानी २५ गतेभित्र र १६ गतेदेखि ३० गतेसम्मको भुक्तानी अर्को महिनाको १० गतेभित्र दिनुपर्छ । नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दुधको बजार घटेकाले भुक्तानी गर्न समस्या भएको बताए । बजार घटेपनि दुध संकलन गर्न भने नछाडेको उनले दाबी गरे ।

‘किसानलाई भुक्तानी दिनका लागि हामीले सुलभ मूल्यमा ऋण उपलब्ध गराइदिन सरकारसँग माग गरेपनि हालसम्म सुनुवाई भएको छैन’ उनले भने ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले भने एसोसिएसनमा आवद्ध निजी क्षेत्रका डेरीहरुले किसानको भुक्तानी बाँकी नराखेको दाबी गरे ।

डीडीसीका सूचना अधिकारी राजेन्द्र अधिकारीले दुध खरिद गरेवापत पछिल्लो ३ महिनाको किसानको ४० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको स्वीकारे । ‘उत्पादन भएको विभिन्न उत्पादनहरुको बिक्री अवस्था निक्कै खस्किएर किसानलाई भुक्तानी गर्न नसकिएको हो,’ अधिकारीले भने, ‘कुनै न कुनै वैकल्पिक व्यवस्था गरेर भुक्तानी उपलब्ध गराउने गृहकार्य गरिरहेका छौं ।’

किसानलाई भुक्तानी उपलब्ध गराउन बैंकबाट ऋण लिने, मन्त्रालयसँग अनुदान माग्ने र उत्पादन भएको तर बिक्री नभएर भण्डारण भएर बसेको मख्खन तथा घीउ बिक्रीलगायतका विषयमा आवश्यक छलफल भइरहेको उनले बताए ।

आर्थिक वर्ष२०७३/७४ देखि चरम घाटामा रहेको डीडीसीले पछिल्लो समयमा किसानको दुध वापतको भुक्तानी, भौतिक पूर्वाधार मर्मत सम्भार र कर्मचारीलाई उपदान उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइदिन प्रस्ताव गरेको छ । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७७ र २०७८ मा दुई पटकमा गरी डीडीसीलाई ३५ करोड रुपैयाँ अनुदानमा उपलब्ध गराएको थियो ।

डीडीसीको घाटा दर चुलिदैं गएर अहिलेसम्म १ अर्ब २५ करोडभन्दा बढि रुपैयाँ पुगिसकेको स्रोतले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल