नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

काठमाडौँ: निर्वाचन आयोगमा नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता भएको छ। गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेकपा (एमाले) नामको दल दर्ता भएको पुष्टि गरे । उनले भने, ‘आयोगको बुधबार बसेको बैठकले नेकपा (एमाले) नामको दल दर्ता गर्ने निर्णय गरेको छ ।’

सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा (एमाले)को महासचिवमा मनिषकुमार उपाध्याय रहेको र चुनाव चिह्न ‘उदाउँदो सूर्य’ रहेको पनि श्रेष्ठले बताए । दल दर्ताका सबै प्रक्रिया पूरा गरेकाले आयोगको बैठकले दर्ता गर्ने निर्णय लिएको उनको भनाइ थियो ।

नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो । सत्तारुढ नेकपाभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै अगुवाइमा दल दर्ताको प्रयास भएको आरोप प्रचण्डसहितका नेताहरुले लगाएका थिए ।

नयाँ दर्ता भएको पार्टीको विधानमा पूरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत- मार्क्सवादी, लेनिनवादी)’ रहेको र छोटकरीमा ‘नेकपा (एमाले)’ रहेको आयोगले जनाएको छ ।

नवगठित एमालेको उपाध्यक्षमा भगवती खड्का, सचिवमा प्रदेश १ बाट अस्मिता सुनार, प्रदेश २ बाट दावा लामा, प्रदेश ३ बाट जयराम राउत , प्रदेश ४ बाट खगेन्द्रप्रसाद भुषाल, प्रदेश ५ बाट राधा पुरी, प्रदेश ६ बाट हिराबहादुर बोहरा र प्रदेश ७ बाट ताराबहादुर शाही रहेका छन ।

यस्तै गरी सदस्यहरुमा पवन विष्ट, निलम पोखरेल, किरण लामिछाने, उमेश महतो, उषाकुमारी झा, प्रदीपराज गिरी, पूर्णिमा तामाङ, निश्चल बस्नेत, सञ्जीव विष्ट, विनिता कार्की, विमला विष्ट, आंकाला भेटवाल र जयराम विष्ट रहेका छन।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट