पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार, आईसीयूमा उपचार हुँदै

काठमाडौं: पूर्वरानी कोमल शाहको अवस्था सुधार भइरहेको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमणपछि पूर्वराजा ज्ञानेन्द्र , पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह गत वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए । पूर्वरानी कोमल शाहको बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

अस्पतालले मंगलबार जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘उहाँको हाल आईसीयूमै राखेर उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ।’

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी छोरी पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र दम्पती भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर वैशाख ५ गते नेपाल फर्किएका थिए । ज्ञानेन्द्र उत्तराखण्डको हरिद्वारमा भएको शाही स्नानमा सहभागी भएका थिए ।

सम्बन्धित शीर्षकहरु

राशिफल