काठमाडौं, ६ भदौ । प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशसभा बैठक बहिष्कार गरेका छन् ।
बुधबार बैठक सुरु हुने बितिकै एमाले र राप्रपाका सांसदहरुले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लङ्घन भएको भन्दै बहिष्कार गरेका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले पनि थापाको पक्षमा मत दिएका थिए ।
एमाले र राप्रपाका सांसदले नारावाजी गर्दै बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित गरेका छन् ।