काठमाडौं, २६ साउन । प्रहरीले काठमाडौं उपत्यकाबाट ५२ लाख नक्कली नोट र नोट छाप्ने मेसिनसहित ९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण–४ बुढाथोकी गाउँबाट गरी ५२ लाख ७५ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको हो।
लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक बसलाई नागढुंगामा चेकजाँच गर्ने क्रममा प्रहरीले शंकास्पद काटन फेला पारेको थियो। उक्त काटनमा एक हजार दरका ३ हजार ५ सय ७३ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।
गाडीका चालक र सह–चालकलाई सो काटनमा ‘अचार छ’ भनी लुम्बिनी बसपार्कबाट पठाइएको प्रहरीले बताएको छ। त्यसपछि प्रहरी वृत्त थानकोट र नागढुंगाबाट खटिएको प्रहरी टोलीले चालक र सह–चालकलाई समेत लगी थप अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा गोंगबु बसपार्क र चाँगुनारायणबाट अन्य १ हजार ७ सय २ थान एक हजारका नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर बताउने ४० वर्षीय अर्जुन सुबेली, सिन्धुपाल्चोक कोठे घर बताउने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिका–६ घर बताउने २३ वर्षीय शिव भण्डारी, मिलन भण्डारी र २४ वर्षीय कृष्ण भण्डारी, झापाको कमल गाउँपाकिाल ३ घर बताउने २९ वर्षीय युवराज राई, आछामको मल्लेख गाउँपालिका–२ घर बताउने अर्जुन बुढा, गुल्मीको वाडागाउँ गाउँपालिका–२ घर बताउने सागर आचार्य र नवलपरासप्को सरावल गाउँपालिका–१ घर बताउने पार्वती नेपाली रहेका छन् ।
प्रहरीले नोट छाप्ने मेसिनसहित अन्य उपकरणहरू पनि बरामद गरेको छ ।