काठमाडौं, १२ साउन । काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको ग्रेड वृद्धि भएपछि मेयर बालेन शाहले शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको बताएका छन्।
काठमाडौंमा ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या यस वर्ष ७८ प्रततिशतले बढेको छ। यस वर्ष परीक्षामा गयल हुने विद्यार्थीको संख्या पनि घटेको छ।
अघिल्लो वर्ष आवेदन दिएका १२५ विद्यार्थी गयल भएकोमा यस वर्ष त्यस्तो संख्या ५० जनामा झरेको छ। गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६ प्रतिशत) जनाले ३.६१ देखि ४.० ल्याएका थिए।
यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० अर्थात ३.८३ प्रतिशत छात्रछात्राले ३.६१ देखि ४.० ल्याएका छन्।
‘यो तथ्यांकबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै छ। विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेका छन्। हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको छ,’ बालेनले भनेका छन् ।