प्रमाणपत्र धितो राखेर कर्जा दिन हच्किन्छन् बैंकहरू

काठमाडौं; कोभिड महामारीका बीच सरकारले गत असोजमा युवा स्वरोजगारलाई प्रोत्साहन गर्न ५ प्रतिशत ब्याज अनुदानमा ल्याएको सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले अझै कर्जा प्रवाह गरेका छैनन् ।

मन्त्रिपरिषद्ले गत असोज ८ गते ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि, २०७५’को तेस्रो संशोधन, गर्दै युवा स्वरोजगार कर्जा थपेको थियो । यसैअनुसार नेपाल राष्ट्र बैंकले पनि गत असोज २७ गते कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो । करीब ३ महीना अवधि बितिसक्दा पनि एउटै कर्जा प्रवाह भने भएको छैन ।

कार्यविधिमा १२ कक्षा पास वा माध्यमिक शिक्षा वा सोसरह उत्तीर्ण युवावर्गले तोकिएको उद्यमका लागि ५ प्रतिशत ब्याज अनुदानमा रू. ५ लाखसम्मको युवा वर्ग स्वरोजगार कर्जा लिन पाउने व्यवस्था छ । यस्तो खालको कर्जाको माग नआएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको भनाइ छ ।

उनका अनुसार युवाहरू देशभित्र भन्दा पनि देशबाहिर जाने क्रम बढेकाले पनि यसको माग नआएको हुनसक्छ । ‘यद्यपि यो कार्यक्रम लागू भएको भर्खर ३ महीना भएकाले पनि प्रवाह नभएको देखिनसक्छ । साथै कोभिडका कारणले कुनै पनि नयाँ व्यवसाय शुरू गर्ने अवस्था पनि थिएन । उद्यमका लागि राम्रो परियोजना प्रस्ताव पनि आएको छैन । तर, यो पनि अब क्रमशः जाला,’ उनले अभियानसँग भने । साथै प्रमाणपत्र धितो राखेर प्रवाह गर्ने कर्जामा बैंकहरू भने हच्किने गरेको उनको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छन् ।

सम्बन्धित शीर्षकहरु

राशिफल