काठमाडौँ, पुस ३ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाएको छ।

शनिबार बिहान कर्णाली र गण्डकी प्रदेशका अधिकांश स्थानमा मौसम बदली भएको छ। तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।
पश्चिमी न्यून चापीय प्रणालीको असरको कारण दिउँसो कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ३ दशमलव ३ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर १९ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।
उच्च पहाडी तथा हिमाली अधिकांश जिल्लाहरुको तापक्रम माइनसमा झर्दा जनजीवन कष्टकर बनेको छ। देशैभर चिसो बढ्ने क्रम जारी नै रहेकोले यसबाट जोगिन महाशाखाले आग्रह गरेको छ।